रोगले थलिएर आमाको मृत्युपछि छोरीको बिचल्‍ली शव बुझ्ने मान्छे भएनन्



रोगले थलिएर आमाको मृत्युपछि छोरीको बिचल्‍ली
शव बुझ्ने मान्छे भएनन्
क्षयरोगबाट थलिएकी सीता परियारको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएपछि उनका दुई छोरीहरु अलपत्र परेका छन् । पहिलेदेखि नै रोगले ग्रस्त सीता दुखाईले च्यापेपछि छोरीहरुसंगै फागुन १३ गते अस्पताल आएकी थिइन् । 'आइसीयू' मा उपचार हुँदै गर्दा ज्यान गएको थियो ।
मृत्यु भएको तीन दिनसम्म सीताको लाश अस्पतालमा अलपत्र छ । बुटवलको हाटबजारको टहरामूनि केही वर्षदेखि जीवन चलाउदै आएकी सीताको शव जस्तै अलपत्र परेका दुई छोरीहरु अनाथ आश्रम पुगेका छन् ।
आमाको मृत्युपछि अस्पतालमा अलपत्र परेका ११ वर्षिया संगीता र सात वर्षिया सोनु परियारलाई प्रहरीले कदम नेपालको सुरक्षित आवास गृह पुर्याइएको थियो । दुई दिन आवास गृहमा बसेका उनीहरु मङ्गलवार कोटिहवाको अनाथ आश्रम पुगेका छन् । महिला विकास कार्यालय रुपन्देही हुदै उनीहरु त्यहा पुगेका हुन् । अनाथ आश्रममा लगेर राखिएको छ, लुम्बिनी अञ्चल अस्पताल 'आईसीयू' का मेडिकल अधिकृत सागर भण्डारीले वालिका अलपत्र परेको खबर प्रहरीलाई दिएका थिए ।
सीताले पहिलो श्रीमान्को मृत्यु भएपछि चार वर्षअघि विकास श्रेष्ठसंग विहे गरेकी थिइन् । बिहे गरेपनि श्रेष्ठले सीतालाई आफ्नो घर देविनगर लगेका थिएनन् । अन्दाजी ३५ वर्षीया मृतक सीताका दोस्रा श्रीमान श्रेष्ठ आइतबार अस्पताल पुगेपनि लास उठाएनन् । 'अहिलेसम्म कसैले जिम्मा लिएका छैनन्,' लुम्बिनी अञ्चल अस्पतालमा रहेको प्रहरी यूनिटका भोजबहादुर पौडेलले भने ।
आवास गृहमा आश्रय लिइरहेकी संगिताले आमा र सौतेनीबाबाले हाटबजारमा जुत्ता सिलाउने गरेको बताइन । संगीताले आमा विरामी भएपछि हाटबजारकै एक होटलमा भाडा माझ्न थालेकी थिइन । 'रोगले बेस्सरी च्यापेपछि अस्पताल आउनुभएको हो,' त्यही वित्नुभयो, आँखाबाट आँसु झार्दै उनले भनिन् ।
अहिलेसम्म विद्यालयमा पाइला नराखेका दुई वालिकालाई न त मावली घर थाहा छ । न त पहिलो वाबुको घर नै । आफू सात वर्षकी हुँदा वुवाको मृत्यु भएको संगिता बताउछिन्, तर उनलाई धेरै कुरा थाहा छैन् । वाबाको मृत्युपछि किरिया उम्केको दिन काकाबा (विकास श्रेष्ठ) संग आमाले विहे गरेको उनले बताइन् । आमाले विहे गरेपछि उनीहरु पनि संगै आए । उनीहरु चारैजना हाटबजारको माछा बेच्ने हटरामा बस्दै आएका थिए ।
सीताको पहिलो श्रीमान तर्फकी जेठी छोरी भने विहे गरेर काठमाण्डौंमा छिन । प्रहरीले उनलाई आमाको शव बुझ्न आग्रह गर्दा अस्वीकार गरिन् । कसैले शव नबुझेपछि बुटवल उपमहानगरपालिकाले बेवारिसी शव अन्तर्गत व्यवस्थापन गर्ने अस्पताल प्रहरी युनिटका पौडेलले बताए ।
अन्नपूर्ण पोस्ट

Comments