दिउँसो स्कुल जान्छन्, राति रिक्सा चलाउँछन् ,६ जनाको परिवार पाल्दै १३ बर्से बालक , १ शेहर त अवस्य हुन पर्छ यि मिहिनेती बालकलाई (पुरा खबर पढ्नुहोला तपाईं छक्क पर्नुहुन्छ )



दिउँसो स्कुल जान्छन्, राति रिक्सा चलाउँछन् ,६ जनाको परिवार पाल्दै १३ बर्से बालक , १ शेहर त अवस्य हुन पर्छ यि मिहिनेती बालकलाई (पुरा खबर पढ्नुहोला तपाईं छक्क पर्नुहुन्छ )
नेपालगन्जको त्रिवेणी मोडमा देवजंगले चलाएको रिक्सा रोक्दै प्रहरी निरीक्षक राजन गौतम ।


नेपालगन्जः रातको साढे नौ बजेको थियो । सधैँजस्तै मंगलबार पनि नेपालगन्जको त्रिवेणी मोड अनि त्रिभुवनचोकवरिपरि साँझको रमझम बाक्लिँदै थियो । नेपालगन्जमा ‘आउटडोर' खानाका लागि चम्किएका यी चोकमा रातिसम्मै मानिसको भीड थामिनसक्नु हुन्छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतम गस्ती टोलीमै थिए । एउटा ई-रिक्सा मधुरो प्रकाश छर्दै आयो । सडक बत्तीको उज्यालोले त्यो छेलिएन । रिक्सा हाँक्दै थिए एक जना १३ वर्षका बालक । गौतमले त्यो रिक्सा रोके । उनीसँगै अर्का करिब नौ वर्षका बालक पनि थिए । दुवैलाई ओरालियो । त्यो रिक्सामा चढेका यात्रुलाई प्रहरीले अर्कै रिक्सामा गन्तव्यतिर पठायो ।
यसरी प्रहरीबाट छेलिँदै रातिराति रिक्सा हाँक्ने बालक हुन् कालीकोटका देवजंग बम । बाबुले घरपरिवार छाडेर बेपत्ता भएपछि आमा र चार भाइबहिनी पाल्न उनले राति-राति रिक्सा चलाउँदै आए । कालीकोट छाप्रे गाविसस्थित सानो माटोको घर भत्किएपछि ६ महिनाअघि उनीहरू नेपालगन्ज झरेका थिए । नेपालगन्जमा रिक्सा चलाउँदै आएका मामाको शरणमा आएका बमको परिवार अहिले एउटा सानो कोठामा डेरा लिएर बसेको छ ।
उनी जेठो छोरा हुन् । कक्षा ८मा पढ्दै गरेका उनको काँधमा अहिले आफ्नो पढाइ र जीवन मात्रै होइन, चार जना भाइ र एक बहिनी अनि आमालाई पाल्नुपर्ने जिम्मेवारी पनि छ । ‘त्यही भएर त रिक्सा चलाउन लागेँ' देवजंग भन्छन् ‘सधैं पुलिसलाई छलेर भाग्थें आज त सरले समाइहाल्नुभो ।'
देवजंग र उनीसँगै रहेका उनका अर्का एक जना भाइलाई राति साढे नौ बजे प्रहरी निरीक्षक गौतमले मःम खुवाउँदै थिए । ‘रिक्साबाट ओरालेपछि सोधपुछ गरेँ, बिचराहरू भोकै रहेछन् अनि मःम खुवाउँदै छु,' गौतमले भने, ‘यस्ता बालकलाई कसरी रिक्सा चलाउन दिनु त ? दुर्घटनाको खतरा हुन्छ, अर्कोतिर बालअधिकार पनि खोसिन्छ ।'
उनका बाबु-आमाको सम्बन्ध कहिल्यै राम्रो भएन । सधैं झगडा हुन्थ्यो । धेरैजसो इन्डिया आउने-जाने गरिरहने उनका बुबा धेरै महिना भयो आएका छैनन् । न कुनै खबर छ, न केही खर्च पठाउँछन् । ‘कापी-कलम किन्नुपर्छ, भाइबहिनी, आमा सबैको खर्च उठाउनुपर्छ', देवजंग भन्छन्, ‘त्यही भएर राति मले रिक्सा चलाउँछु, दिउँसो मामाले चलाउनुहुन्छ ।'
कमाउने घरमूली बेपत्ता भएपछि निकै पुरानो माटोको घर पनि ढल्यो । उनीहरू केही समय माइतीघरका बुबाको घरमै बसे । त्यसपछि आमाले भाइसँग शरण मागिन् र नेपालगन्ज झरे ।
त्यसपछि देवजंग र उनका भाइ-बहिनी यहीँको एउटा सरकारी प्राथमिक स्कुलमा भर्ना भए । सरकारी विद्यालयमा भर्ना र अरू शुल्क लाग्दैन । तर, कापी, कलम र अन्य चाहिने सामान किन्ने पैसा जुटाउनुपर्ने भयो । केही समय त मामासँगै बसे । पछि छुट्टै डेरा लिए । खाना पनि नपुग्ने भयो । आमाले एउटा निजी कार्यालयमा भुइँ पुछ्ने काम गर्थिन् । त्यो पनि छुट्यो । अनि देवजंगको विकल्प भयो, रिक्सा । दिनभरि स्कुल जान्थे र साँझ मामा फर्केपछि रिक्सा लिएर बजार निस्किन्थे । कमाएको केही पैसा मामा र उनले भाग लगाउँथे ।
त्यस्ता केटाकेटीलाई रिक्सा नदिन भन्दै प्रहरीले उनीहरू सबैलाई बुधबार बिहान चौकीमा बोलाएको थियो । त्यहाँ पनि देवजंगकी आमा प्रमिला बमले सबै कथा-व्यथा भनिन् । चौकीमा आएका केही मानिसले उनको व्यथा सुनिसकेपछि चामल, नुन, तेललगायत केही खाद्यान्न किनेर प्रहरीको जिम्मा लगाइदिए । अनि प्रहरीले त्यो चामल प्रमिलालाई दियो । एउटा २ वर्षको काखेबालक पनि उनीसँग छ । अरू पनि लगातार जन्मिएका छोराछोरी साथमा छन् । प्रहरीका अनुसार बेला-बेला मात्र आउने उनका श्रीमान्ले प्रमिलालाई कुटपिट गर्छन् र केही समय बेपत्ता हुन्छन् । उनलाई परिवारको कुनै मतलव छैन ।
धेरै पढ्ने सोख छैन, देवजंगलाई पनि । सानैदेखि परिवारको जिम्मेवारी काँधमा आएकाले कसरी परिवार पाल्ने भन्ने मात्रै ध्याउन्न उनको छ । प्रहरी निरीक्षक गौतमले किनिदिएको मःमका केही टुक्रा भाइ-बहिनीलाई लगिदिन प्लास्टिकमा हालिरहेका देवजंगले भने, ‘१० कक्षासम्म पढेपछि ड्राइभर भएर पैसा कमाउने हो ।' अन्नपूर्ण पोस्टको सहयोगमा

Comments