त्रिशूली नदीमा गाडी भेटियो, पूर्वगृहमन्त्री घिमिरेको हुनसक्ने अनुमान -



ghimire-accident

काठमाडौं, १३ असोज । पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप दुर्घटनापछि खोजीका लागि परिचालित भएको नेपाली गोताखोरले त्रिशूली नदीमा गाडी फेला पारेको छ।

चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार नदीको ८/१० फिट गहिराईमा गाडी फेला पारिएको जानकारी दिए। उक्त गाडी पूर्वगृहमन्त्री घिमिरे चढेकै गाडी हो वा अन्य गाडी हो भन्ने यकिन हुन सकिरहेको छैन। घोप्टेभीरबाट २० मिटर दक्षिण क्षेत्रमा नेपाली गोताखोरले बुधबार बेलुका गाडी फेला पारेको हो।
‘गाडी फेला परेको हो, तर पूर्वगृहमन्त्री चढेको गाडी हो भन्ने चाहिँ यकिन भएको छैन,’ कुँवरले भने, ‘हाम्रो शंका त्यही गाडी हो भन्ने छ।’ उनका अनुसार नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी तथा गोताखोरको प्रयासमा गाडी निकाल्ने काम भइरहेको छ। आइतबार साँझ काठमाडौं आइरहेका बेला पूर्वगृहमन्त्री घिमिरेसहित परिवार चढेको बा९च १५३१ नम्बरको जीप घोप्टेभीरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो।

घटनास्थलबाट तत्काल आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले र निजी सुरक्षाकर्मी रामचन्द्र कार्कीको शव फेला परेको थियो। चालक विष्णु राई घाइते अवस्थामा फेला परेका थिए। घिमिरेसहित उनका दुई भाइ त्रिशुलीमा हराइरहेका थिए।

केही दिनपहिले घोप्टेभीरबाट ट्रक खसेर नदीमा बेपत्ता भएको थियो। कुँवरका अनुसार भेटिएको उक्त गाडी ट्रक पनि हुनसक्छ।

Comments