बार्सिलोना,६ असोज । बार्सिलोनका सुपरस्टार लियोनेल मेस्सी तीन हप्ता मैदान बाहिर रहनुपर्ने भएको छ । बुधबार राती एथ्लेटिको म्याड्रिडबिरुद्धको खेलमा घाइते भएपछि मेस्सी मैदानबाहिर बस्नुपरेको हो । उनको ग्रोइनमा चोट लागेको क्लबले जनाएको छ । डिएगो गोडिनको ट्याकलपछि अर्जेन्टिनी स्ट्राइकरले खेलको ५९ औं मिनेटमा घाइते हुँदै मैदान छाड्न परेको थियो । महिनाको शुरुवातमा मेस्सीले पनि ग्रोइन इन्जुरीका कारण अर्जेन्टिनाको विश्वकप छनौट अन्तरगत भेनेजुएला विरुद्धको खेल गुमाएका थिए । तर, त्यसयता उनले ला लिगाका पाँचै खेलमा सहभागिता जनाएका थिए । मेस्सी अक्टोबर १९ मा हुने म्यान्चेस्टर सिटीविरुद्धको खेलमा भने फर्कन सक्नेछन् । घाइते भएपछि उनले बोरुसिया चेनग्लाडब्याचविरुद्धको च्याम्पियन्स लिगको खेल र ला लिगामा स्पोर्टिङ गिहोन र सेल्टा भिगो विरुद्धको खेल गुमाउने छन् । उनले पेरु र पाराग्वेविरुद्धको विश्वकप छनौट खेल पनि गुमाउनेछन् । बुधबारको खेलमा सर्जियो बुस्केट पनि घाइते हुँदै मैदानबाट बाहिरिए थिए ।
Comments
Post a Comment