आज लक्ष्मी पुजा साँझ घर-घरमा झिलीमिली पारेर माता लक्ष्मीको पूजा आराधना गरि मनाइँदै



काठमाडौँ, १४ कार्तिक – यमपञ्चकको तेस्रो दिन आज साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ।


लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ। लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ। आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ। गृहेणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन्।

Comments