पछिल्ला वर्षहरूमा जापानमा विद्यार्थी भिसामा आउने नेपालीहरूको संख्या निकै बाक्लिँदै गएको छ। अझ यसमा पछिल्ला दुई वर्षमा त हालसम्मकै धेरै विद्यार्थीहरू भित्रिएको मानिन्छ। त्यसो त जापानमा विद्यार्थी भिसामा आउने नेपालीहरू मात्रै होइनन्। यहाँ नेपालका अलवा, भियतनाम, म्यानमार, भारत, बंगलादेश, श्रीलङका, इन्डोनेसिया तथा चाइनालगायत विश्वका अन्य थुप्रै मुलुकहरूबाट धेरै अघिदेखि विद्यार्थीहरू आउने गरेका छन्। यो क्रममा भाषामा रहेको समानता र भौगोलिक दुरी पनि नजिक भएकाले सबैभन्दा बढी चाइनिजहरू नै आउने गरेको तथ्यांक देखिन्छ। यो एसियाली मुलुक भएर पनि भौतिक विकासमा निकै अगाडि रहेको र विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भएकाले पनि यहाँ अवसरहरू धेरै छन्। र, त्यही अवसरकै खोजीमा हरेक वर्ष यहाँ हजारौँ विदेशीहरू विभिन्न बहानामा भित्रिरहेका छन्। यही क्रममा नेपालीहरू पनि अग्रस्थानमा छन्। त्यसो त नेपालीहरू जापान आउन थालेको धेरै समय भइसकेको छ। तर, पहिलेभन्दा अहिले जापान आउने नेपालीहरूको संख्या ज्यामीतीय अनुपातमा वृद्धि भइेरहेको छ। कुक, बिजनेस तथा विद्यार्थी यी तीन प्रकारका भिसा बाहकहरूको संख्या अधिक रहेको छ। पछिल्ला वर्षहरूमा विद्यार्थी भिसाप्रति देखिएको आकर्षण कायम रह्यो भने अवको केही वर्षमा जापानमा विद्यार्थी भिसाबाहक नेपालीहरूको संख्या सबैभन्दा धेरै हुने निश्चित छ। अहिले जापानमा झन्डै ६० हजारको नेपालीहरू रहेका छन्।
किन बढ्दो छ त जापानप्रतिको आकर्षण?
सामान्यतः नेपाली विद्यार्थीहरूमा जापानप्रतिको बढ्दो आकर्षणको मुख्य कारण भनेको अथाह अवसर छ भनिनु नै हो। मैले सुरूवातमा पनि लेखिसके कि जापान भौतिक विकासको आधारमा निकै अगाडि छ। आर्थिक विकासको कुरा गर्ने हो भने केही वर्ष अघिसम्म मात्र पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकको सूचीमा थियो भने अहिले पछिल्ला वर्षहरूको आर्थिक मन्दीका बाबजुद पनि अझै विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो। यहाँको अटो तथा अन्य मेसिनरी उद्योगहरूको विकास अचम्म लाग्ने किसिमले उत्कर्षमा पुगेको छ। जापान विश्वका उत्कृष्ट मोटर तथा पार्टस उत्पादक कम्पनीहरूको हबका रुपमा रहेको छ। योसँगै सूचना प्रविधिको विकासमा पनि विश्वकै अग्रपंक्तिमा रहेको छ। यी र यस्ता थुप्रै कारणहरू छन् जसले यहाँ रोजगारी र अर्थोपार्जनका अवसरहरू प्रशस्तै छन् भन्ने आधारहरू स्वतः पेश गर्दछ। योसँगै जापान सुरक्षित र ऐन कानुनको पालना सुव्यवस्थित ढंगमा भएको मुलकको सूचीमा पनि अग्रस्थानमै छ। यी र यस्ता कारणहरूले जोसुकैलाई पनि सजिलै आकर्षण गर्न सक्दछ। अझ नेपाली विद्यार्थीहरूका हकमा त भिसा प्रक्रिया पनि तुलनात्मक रुपमा सहज, भाषा पढ्नका लागि आउने हुँदा शैक्षिक योग्यता पनि अरु विकसित मुलुकमा जानजस्तो खासै उत्कृष्ट हुनुनपर्ने, पढ्दै, पार्ट टाइम काम गरेको भरमा नेपालमा पनि राम्रै पैसा पठाउन सकिने लगायतका कारणहरूले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ।
के साँच्चै जापान भनिएजस्तै अवसर नै अवसरको मुलुक हो त?
हो, जापानमा साँच्चै अथाह अवसरहरू छन्। तर, त्यी अवसरहरू प्राप्त गर्नका लागि सानोतिनो प्रयास र धैर्यताले भने खासै सम्भव छैन। खासगरी नेपाली विद्यार्थीहरूको सवालमा भन्ने हो भने जापानमा रहेको भनिएका अवसरहरू केवल सुन्नमै सीमित छ भन्दा पनि फरक नपर्ला। किनकि अधिकांश नेपाली यहाँ पढ्नभन्दा पनि पढ्ने बहानामा आएका मात्र हुन्छन्। यहाँ आएर पढ्नेभन्दा पनि कसरी चाँडोभन्दा चाँडो पैसा कमाउने भन्नेमा मात्र लागेका भेटिन्छन्। जसको कारण न उसले यहाँको भाषा नै राम्रो जान्न सक्छ न त यहाँका कलेज तथा विश्वविद्यालयहरूमा गएर राम्रोसँग पढ्न सक्छ। यहाँ आउने अधिकांश नेपाली विद्यार्थीहरूको मुख्य लक्ष भनेको अर्थोपार्जन हो। जसरी हुन्छ, जस्तो काम गरेर हुन्छ पैसा कमाउ, नेपालबाट आएको ऋणतिर र केही जम्मा गर अनि नेपाल फर्क। योभन्दा पृथक सोच राख्नेहरू बिरलै भेटिन्छन्। यहाँको कानुनले तोकिदिएको हप्तामा २८ घण्टाको मात्र काम गर्ने नेपाली भेट्टाउन असम्भव छ।
यहाँ आउनेहरूले हप्तामा कम्तीमा पनि ५० घण्टा बराबरको काम गरिरहेका हुन्छन्। जुन कानुनतः गैरकानुनी हो, यसले एक त विद्यार्थीको भिसा अवधि थप हुने नहुने कुनै टुंङ्गो हुँदैन भने अर्को, जुन विद्यार्थी एक हप्तामै पचास घण्टा काम गर्छ भने उसले कहिले र कति पढ्ला, सजिलै अनुमान गर्न सकिन्छ। जापानमा पढ्ने अधिकांश विद्यार्थीहरूसँग मुस्किलले प्रमाणपत्र त हुन्छ तर त्यो विषयको ज्ञान भने शून्य। यदि त्यही विषय राम्रोसँग पढ्ने र त्यसलाई उपयोग गर्न सक्ने हो भने दीर्घकालसम्मका लागि राम्रा र दिगो अवसर सिर्जना हुने थियो। तर, बिडम्बना जापान दस वर्षसम्म बसे पनि उसले सुरुवाती दिनहरूमा पाउने अवसर र गर्ने काममा खास केही फरक ल्याउन सक्दैन।
किन हुन्छ त यस्तो?
नेपाली विद्यार्थीहरूमा यो प्रवृत्तिको हावी हुनु पछाडिका कारणहरू धेरै होलान् तर त्यसमध्येमा नेपालमा कन्सल्टेन्सी सञ्चालकहरूले देखाउने महत्वकांक्षी सपना तथा स्वदेशप्रतिको बढ्दो वितृष्णा मुख्य हो। नेपालमा भाषा स्कुलमा भाषा पढ्न थालेदेखि नै जापान गएपछि यस्तो काम पाइन्छ, महिनामा यति र उति कमाइन्छ, छ महिनाअघि जानेले यति कमायो जस्ता कुराहरू नै बढी सुनाइन्छ। भाषा पढ्दै गरेको विद्यार्थी कमाइको मोहमा आफ्नो क्षमताभन्दा पनि ऋण काढेर १२÷ १३ लाख रुपैयाँ ३६ प्रतिशतसम्मको ब्याजमा जोहो गर्छ र त्यो रकम कल्सल्टेन्सी तथा जापानका भाषा विद्यालयमा बुझाएर हतार–हतार, रातारात मालामाल हुने सुन्दर सपना साँचेर जापान आइपुग्छ।
तर, उसले नेपालमा जे गर्नुपर्थो त्यही गरेको हुँदैन। यानिकि भाषा स्कुल त गएको हुन्छ तर भाषा पढेको हँुदैन। जापानमा आएर धन कमाउने सुन्दर सपना देख्छ तर त्यो सपना पूरा गर्न कति रोटी बेल्नुपर्छ त्योबारे अनभिज्ञ हुन्छ। जसको कारण जापान टेकेको केही क्षणबाट उसमा नैराश्यता बढ्न थाल्छ। किनकि अरु कसैको सहायताबिना ऊ एक ठाउँबाट अर्को ठाउँसम्म पनि पुग्न सक्दैन। यहाँ उसले जानेको टुटेफुटेको अंग्रजीले पनि काम गर्दैन र केही दिन इन्स्टिच्युटमा गएर सिकेको ओहायो उगोजाईमास र कोन्निचिवाले नि पुग्दैन। यो क्रम चल्दै लगभग एक महिनाको बीचमा ऊभित्र जापानप्रति पूर्ण नकारात्मक धारणा शिवाय केही बाँकी रहँदैन। र, उसले देखेका सपना पूरा गर्नेभन्दा पनि नेपालबाट आउँदा लागेको ऋण कसरी तिर्ने र कसरी जापानमा आफ्नो खर्च धान्ने भन्ने मात्र सोच्न बाध्य हुन्छ।
फलस्वरुप बल्लबल्ल दुनियाँलाई गुहारेर मुस्किलले होटल, यामातो तथा बेन्तोजस्ता कम्पनीहरूमा कामका लागि छिर्छ र त्यहीँबाट आउने केही रकमको आशमा पढाइ–सढाइ एउटा कुनामा थुपारेर, पसिनाले शरीर भिजाउन थाल्छ। बल्लबल्ल अलिअलि कमाउन थाल्छ। फेरि स्कुलको बाँकी शुल्क तिर्ने समय आइपुग्छ, अनि फेरि जिन्दगी तनावमय। रातभरि नसुती काम गर्यो, पैसा कमायो तर कोठा भाडा, खानाखर्च, ट्रेन भाडा,ईन्स्योरेन्सको पैसा, कलेज फि तिर्दा ठिक्क। उता नेपालमा आउँदा खोजेको १२ लाख ऋण १८ लाख पुगिसकेको हुन्छ। यस्तो वातावरणमा बिचराले पढोस् पनि कसरी? जसरी हुन्छ काम अनि काम नगरी सुखै हुँदैन र लाग्छ जुत्तो (निरन्तर) काम गर्न।
पढ्न छाडेर कामलाई प्राथमिकता दिएपछि अलिअलि जसोतसो ऋण त घटाउँछ तर भिसा थपिने सम्भावना अत्यन्त न्यून। नेपाल फर्कौं ऋण नै बाँकी छ, नफर्कौं भिसा पाउने सम्भावना छैन। उसलाई जसरी पनि जापान बस्नु छ, नेपालमा बाबु–आमाको नाक जो ठूलो भइरहेको छ। यसमा विकल्प कि, कुनै कम्पनीमा वर्किङ भिसा, कि विजनेस भिसा, कि त कुनै जापानिजसँग बिहे गर्न सक्नुपर्यो। तर, ऊसँग उल्लेखित कुनै योग्यता हुँदैन। अन्ततः ऊ देश सग्लो भएर पनि देशविहीन बन्ने बाटोमा सोझिन्छ र कहिलै नसोचेको मार्ग पछ्याउँदै शरणार्थीको आवेदन दिन पुग्छ। अनि भन्न थाल्छ, ‘जापान आउनुभन्दा त खाडी मुलुक गएको भए वेश।’
Comments
Post a Comment