यिनीहरु नै हुन् दुबईमा भिजिट भिषामा लगेर अलपत्र पार्ने चिनी राखौ है ! (भिडियो सहित)>




उक्त ट्राभल्स एजेन्सीको ठगीको धेरै तथ्य फेला परेपछि म सिनामंगलतिर इस्टर्न ट्राभल्स खोज्दै गएँ । – सिनामंगलमा पुगेर दीपक कार्कीलाई फोन गरेँ । ‘सिनामंगल चोकबाट एयरपोर्ट जाने बाटोको अलि अगाडिबाट तलतिर झर्नु, त्यहाँ हाम्रो अफिसको बोर्ड देखिन्छ दोस्रो तलामा आउनु ।’ -फोनबाट निर्देशन आयो । उक्त अफिसको पहिलो तलामा मिमोसा म्यानपावर कम्पनी रहेछ । म सरासर माथि चढेको देखेर त्यो म्यानपावरको कर्मचारीले रुखो आवाजमा भने, – ‘कहाँ जान लागेको ?’ मैलै छोटो उत्तर दिए – ‘ दीपक सरको अफिस ’ फेरि पनि उस्तै रुखो स्वरमा उनले भने, – ‘सोधी खोजी नगरी सिधै जाने हो । सोध्नुपर्छ नी ? ’ म केही नबोली सरासर माथि दीपक कार्कीको अफिसमा गएँ । कार्कीको अफिसमा एकजना महिला बसिरहकी थिइन । ल्यापटप चलाइरेकी उनले ल्यापटप चलाउन छोडेर अगाडि बस्न आग्रह गरिन् । कोठा साधारण थियो । भित्ताको रंगहरु खुइलिइसकेको फुस्रा देखिन्थे । बस्ने सोफाका कभरहरु ठाउँ-ठाउँमा च्यातिएर झुत्रो भएको थियो । ती महिलाले सोधिन्, – ‘के को लागि आउनु भएको ? मैले भने ‘बिदेस जान बुझ्न आएको । ’ ती महिलाले भनिन्,- ‘भाइ यहाँ त टिकट काट्ने मात्रै काम हुन्छ । ट्राभल्स कम्पनी हो ।’ उनले त्यो अड्डाको देखाउने दाँत मुस्कान दिएर देखाइन् । मैले साँचो कुरा भनिदिएँ – ‘तलबाट दीपकसरको अफिसमा जानु भनेर पठाउनुभएको ।’ त्यसपछि ती महिलाले हाँस्दै भनिन् – ‘ए हो र ! कुन देश जान लाग्नु भएको हामी पनि ट्राभल्स भिसामा पठाउँछौ ।’ ‘दुवई जाने हो ?’ एकछिन राेकिएर फेरि भनिन् । उनको स्वर अस्वाभाविक रुपमा बदलियो । अघिसम्म टिकट मात्रै काट्ने भनेको मान्छेले अहिले विदेश पठाउने कुरा खोलिन् । थप धेरै रहस्यमय र ठगीका अनेक प्रपञ्च खुल्न शुरुमात्रै भएको थियो त्यो । मैले सोझो पारामा भने – ‘म त घुम्न जान लागेको होइन । काम गर्न पैसा कमाउन जान लागेकाे हो । घुम्न जानको लागि त पैसा छैन । पैसाको अभावले गर्दा नै जान लागेको ।’ ‘कति पढ्नु भाको छ भाइ ?’ उनले सोध्न नपाइ मैले भने ‘पढ्न सकिएन । प्लस टु नै पटक पटक फेल भइयो । नपढेका मान्छेकाे नेपालमा काम रैनछ । वर्ष भरि काम गर्यो । खल्ती रित्तो हुन्छ । काम न दामको भर बस्नु भन्दा यसो मिलेदेखि जाउँ भनेर आ’को ।’ त्यसपछि ती महिलाले सबै कुराको बेलिविस्तार लगाउदै भनिन् – ‘हामीले ट्राभल्स भिसा बनाएर तपाइलाई तीन महिने प्याकेजमा पठाउँछौ । उता गएपछि एयरपोर्टमा तपाईलाइ हाम्रो मान्छेले रिसिभ गर्छ ।’ ‘अहिले साउदी कतार दुवईमा भिसा पाउन गाह्राे छ । त्यसैले छिटाे जानेलाई भिजिट भिसा नै राम्राे हुन्छ ।’ उनले विश्वास दिलाउन खाेजिन् । ‘एकमहिना जतिमा तपाइलाई हाम्रो मान्छेले काम लगाइदिइ सक्छ । अनि तपाइँले काम गर्ने कम्पनीले तीन महिना भित्रमा वर्किङ भिसा बनाइदिन्छ ।’ उनले विश्वस्त पार्दै भनिन् । ‘म पनि विश्वस्त भएँ ।’ ट्राभल्स एजेन्टका रुपमा काम गरेको देखाउने तर भित्रभित्रै नेपाली युवासँग मोटो रकम लिने र विदेश पठाएर विचल्ली पार्ने गिरोहको अखडामा पुगेको महशुस भयो । मैले जिज्ञासा थपेँ, ‘म्यानपावर कम्पनीबाट जानु र यसमा के फरक छ र ?’ त्यसपछि उनले लोभ देखाउदै भनिन् ‘म्यानपावरबाट जानुभन्दा यहाँबाट गयो भने राम्रो काम पाइन्छ । कमाइ पनि म्यानपावरबाट जानु भन्दा धेरै हुन्छ । सबै कुरामा सुविधा हुन्छ । उताको सय रुपैयाँ त यता कति धेरै हुन्छ । विदेश गएर राम्रो काम पाएर धेरै कमाउनु भन्दा ठूलो सुविधा अरु के हुन्छ र ?’ उनले प्रतिप्रश्न गरिन् । अनी मैले जिज्ञासा राखे ‘तीन महिनासम्ममा काम नपाएर भिसाको डेट सकिएर पुलिसले पक्र्यो भने ?’ यो प्रश्नले उनको अनुहार कालो भयो । एक बेरोजगार युवाको प्रश्न दबाउँन उनले ठूलो स्वरमा भनिन्, ‘मैले अघि नै भने नी केही गाह्राे हुँदैन । हामीले कति धेरैलाइ पठाइसकेका छौं । उनीहरुले खाएर बसेर ५० हजारभन्दा बढी बचाएका छन् । तपाईं त यो उमेरमा पनि डराउनुहुँदो रैछ । डरार पनि पैसा कमाइ हुन्छ त ?’ उनले मेरो बहादुरी परीक्षण गरेझै प्रश्न गरिन् । त्यसपछि मैले जान लाग्ने खर्चको बारेमा सोधे । खर्चको बारेमा ती महिलाले भनिन् ‘शुरुमा ५० हजार डिपोजिट छोड्नुस । भिसा आएपछि काम र कमाइको अनुसार २ देखि ३ लाख लाग्न सक्छ । एयरपोर्टमा तलदेखि माथिसम्म सेटिङ नमिलाइकन जान दिदैनँ ।’ उनले विदेशमा पक्का पुर्याइदिने तरिकाले निर्धक्क भएर रहस्य खोलिन् । ‘एयरपोर्टमा किन सेटिङ मिलाउने होला ?’ मलाई जान्न मन लाग्यो ।

Comments