धनकुटा, १३ कात्तिक - छिन्ताङ–८ स्थित सिम्लेडाँडामा गए राति पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
धरानबाट मूलघाट हुँदै भोजपुरको सीमास्थित अखुवाटारतर्फ जाँदै गरेको को१ज २७२२ नंको पिकअप ब्रेक फेल भएर सडकबाट करिब ७० मि तल खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी भोजपुरको घोडेटारस्थित सगरमाथा माविका सहायक प्रअ पृथ्वीमान राई र धरान–१ सिखरटोलकी सुशीला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा पिकअप चालक विकास राई, सहचालक हर्क माझी, छिन्ताङ–६का प्रेम भण्डारी, विकास दुलाल, शम्शेर राई र उनका छ वर्षीय छोरा घाइते भएको र उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो।
कच्ची सडक र सदरमुकामबाट टाढा भएकाले घाइतेको उद्धारमा ढिलाइ भएको थियो। घटनास्थल धनकुटा सदरमुकामबाट करिब ५० किमी दक्षिणपश्चिममा पर्छ।
Comments
Post a Comment