रौतहटको हर्दिया पल्टुवा गाविस वडा नम्बर ३ की ३५ वर्षीया रेणुदेवी साह र ९ वर्षीया छोरी अंकिता कुमारीको पुस ४ गतेराति धारीलो हतियार प्रहार गरी हत्या भएको थियो ।
आमा रेणु र छोरी अंकिताको हत्या आरोपमा पक्राउ परेका चन्द्रपुर नगरपालिका वडा नम्बर १३ का ५० वर्षीय राजेन्द्र दास तत्मालाई मंगलबार रौतहट जिल्ला अदालतका न्यायधिश लक्ष्मीराम ढुङ्गानाको इजलासले पुर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
मृतक महिलाका श्रीमान रामबालक साह चार वर्षअघि बैदेशिक रोजगारीमा गएको मौका छोपेर घरबाट बाहिर बोलाएर रेणु र छोरी अंकिताको शरिरभरी धारिलो हतियार प्रहार गरी विभत्स तवरले हत्या गरेका थिए ।
प्रहरीले तत्मालाई घटना घटेको चार दिनपछि बिश्रामपुर गाविसबाट पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा अझ अनुसन्धान दुरुस्त बनाउन माघ १२ गते उनको पोलिग्राफी ग¥यो । तत्मालाई प्रहरीले गरेको पोलिग्राफीमा ०.१ प्रतिशत पनि निर्दोष भेटिएन ।
उनी घरबाट माइली छोरी अंकितालाई सँगै लिएर आएपछि तत्माले सोचेको काममा छोरी बाधक बनेपछि आवेगमा आएर दुवै जनामाथि अन्धाधुन्ध खुकुरी प्रहार गरी छतविछत अवस्थामा पारेर आमा छोरीको हत्या गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलाल जैसवालले बताए ।
आमाछोरी एक घण्टासम्म घर नफर्किंदा सासु एतबरिया र देवर रामएकवाल साह खोजतलास गर्दै जाँदा घरभन्दा ३ सय मिटर दक्षिण पूर्व–उत्तर उखुबारी नजिकको बाटोमा विभत्स रुपमा हत्या गरिएको अबस्थामा दुवैको शव फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेको थियो ।
आमा छोरीको घाँटी, टाउको, औंला, अनुहारसहित शरिरको विभिन्न भागमा धारिलो हतियारले काटेर विभत्स हत्या भएलगत्तै प्रहरीले अपराधी पत्ता लगाउन तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । मधेसमा जारी आन्दोलनको बेला प्रहरी–जनता बीचको समबन्ध चिसिएको बेला भएको घटना पत्ता लगाउन रौतहट प्रहरीलाई ठूलो चुनौतीको सामना गर्नु परेको थियो ।
Comments
Post a Comment