आज नेपाल गए भोलि नै आउँन पाइने कतारमा नया नियम घोषणा ४ लाख नेपालीसहित २० लाख आप्रवासी लाभान्वित कृपया सक्दो सेयर गर्नु होस ताकी सबै जनाले थाहा पाउनु जरुरी छ


कतारमा बहुप्रतिक्षित स्पोन्सरसीप कानुन लागू

नयाँ कानुनका विशेषता


— करारपत्रमा केन्द्रित स्पोन्सरसीप
— पाँच बर्षसम्म एउटै कम्पनीमा सेवा दिए एनओसी दिनुपर्ने
— करार पत्र सकिएलगत्तै स्वदेश फिर्न पाइने
— सक्कली करारपत्र बोकेकालाई मात्रै कतार प्रवेश गर्न दिइने
— कम्पनीले कामदारलाई रोक्ने अधिकार कटौती
— श्रम विवाद भएमा अस्थायी स्पोन्सर पाउने
— दोश्रो देशमा भ्रमण गर्न एक्जिट पत्र नचाहिने, कतारलाई छोड्नु परेमा मात्रै एक्जिट पत्र चाहिने
— राहदानी राख्ने रोजगारदाता कम्पनीलाई १० देखि २५ हजार रियाल जरिवाना
— अनुमति बेगर अर्को कम्पनीमा कामदार पठाए ५० हजार रियाल जरिवाना र तीन बर्ष जेल
— कम्पनीले निष्कासन गरेमा चार बर्ष कतार आउन नपाउने
— श्रम मन्त्रालयबाट रोजगारपत्रमा प्रमाणीकरण गरेपछि मात्रै भिसा जारी



नेपाली सहित आप्रवासी कामदारको अधिकार र नियन्त्रण गर्न सुधार गरी ल्याइएको स्पोन्सरसीप (कफला) सम्बन्धी जारी गरिएको नयाँ कानुनलाई कतारले मंगलबार (मंसिर २८)बाट कार्यान्वयनमा ल्याएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल–थानीले ‘आप्रबासी कामदारको प्रस्थान, स्वदेश फिर्ता (एक्जिट परमिट), आबासीय र स्पोन्सरसीप (कफला)सम्बन्धी–कानुन नम्बर २१, २०१५’ एक बर्ष अघि अनुमोदन गरेको हो । कतारले आफ्नो सरकारी संयन्त्रलाई नयाँ कानुनको प्राबधान अनुसार काम गर्न सक्ने क्षमतामा बिकास गरी नयाँ कानुनलाई कार्यान्वयनमा ल्याएको हो । यो कानुनले ‘स्पोन्सरसीप सम्बन्धी कानुन नम्बर ४, २००९’ लाई प्रतिस्थापन गरेको छ । प्रशासन विकास, श्रम तथा सामाजिक मन्त्रालयले नयाँ नियम जारी भएको सोमबार घोषणा गरेको हो ।

सुधारिएको नयाँ कानुन जारी भएपछि कतारमा कार्यरत आप्रवासी कामदार निकै हर्षित भएका छन् । यो कानुनले कामदारको लागि रोजगारको छनोट, सहज रुपमा स्वदेश फिर्ता, रोजगारदाता (स्पोन्सर)लाई केही हदसम्म नियन्त्रण गरेको छ ।

धेरै अन्तर्राष्ट्रिय अधिकारवादीले कडा स्पोन्सरसीप व्यवस्थाले कामदारमाथि शोषण गर्ने वातावरण मिलेको भन्दै यस ब्यबस्थालाई सुधार गर्न दवाव दिदै आएका थिए । चौतफी दवाव र कतार सरकारको चाहना अनुसार ‘आप्रवासी कामदारको प्रस्थान, स्वदेश फिर्ता, आबासीय र स्पोन्सरसीप (कफला)लाई सुधार गरी नयाँ कानुन ल्याइएको थियो ।

कतारमा १९६३ बाट स्पोन्सरसीप (कफला) ब्यबस्था लागु गरेको थियो । कतारले आफ्नो नागरीक, देशको आन्तरीक सुरक्षासँगै अर्थ ब्यबस्थालाई समेत मध्यनजर गर्दे स्पोन्सरसीप ब्यबस्था लागु गर्दै आएको हो । आप्रबासी कामदारलाई नियन्त्रण गर्ने स्पोन्सरसीप ब्यबस्थाबाटै गरिने प्रमुख माध्यम हो । कतार आउने/जाने मात्रै होइन, यहाँ बसोबास गर्नदेखि केही गर्न पनि स्पोन्सरसीपको अनिबार्य अनुमति चाहिन्छ । कतारमा करिब २६ लाख जनसख्या रहेकोमा चार लाख नेपाली कार्यरत छन् ।

नयाँ कानुनका बिशेषताहरु
नेपाली कामदारले केही बिषय मात्रै सम्बोधन गर्ने आफूहरुलाई पुग्ने आशा गरेका थिए । जस्तो : पहिलो जुन कम्पनीले भनेको जति तलब, काम र सेवासुबिधा दिदैन, त्यो कम्पनी छाडेर अर्को कम्पनीमा काम गर्नु पाए हुन्थ्यो । दोश्रो आपतकालिन अबस्थामा घर जान पाए हुन्थ्यो । तेश्रो कम्पनीबाट ‘क्यान्सील’ भएको खण्डमा ६ महिनापछि अर्को कम्पनीमा आउन पाए हुन्थ्यो । चौथो आफ्नो क्षमता र सीप अनुसारको रोजगार गर्न पाए हुन्थ्यो । यो भन्दा खास अरु ठुलो चाहना थिएन/छैन् ।

नयाँ कानुनका केही बिशेषता छन् । पहिलो स्पोन्सरसीप ब्यबस्था पुरै कम्पनी माथि निर्भर थियो । कम्पनीलाई असीमित अधिकार हुन्थ्यो । यसमा परिवर्तन देखिएको छ । ‘अब स्पोन्सरसीप करार पत्रमा कामदारले सम्झौता गरेर कतार आउने बेला जे लेखिएको छ, त्यो अनुसार कार्यान्वयन हुन्छ । करारपत्रमा लेखिएको काम, तलब, सेवासुबिधा फरक परेमा कामदारले सम्बन्धीत निकायमा तुरुन्तै उजुरी गर्न सक्नेछ,’ प्रशाशन बिकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा.इशा बिन साद अल जफाली अल नुएमीले पत्रकार सम्मेलनमा भनेका छन् ।

दोश्रो कम्पनीले एक्जिट पत्र नदिएमा उजुरी गर्नकाे लागि कतारले एउटा उच्चस्तरीय समिति बनाएको छ । कम्पनीले करारपत्र समाप्त भएपछि वा राजीनामा दिँदा पनि नपठाएमा कामदार त्यस समितिमा जान पाउने बाटाे खुला गरेकाे हाे । उजुरी लिएको तीन दिनभित्रै कामदारले आफ्नो स्वदेश फिर्न पाउने अधिकारलाई ग्यारेन्टी गर्ने आन्तरीक मन्त्रालयको कानुनी विभागले जनाएको छ ।

अर्को पक्ष ‘एनओसी’ हो अर्थात् एउटा कम्पनी छाडेर अर्कोमा जान पाउने । दुई बर्षे करार पत्रमा आएको ब्यक्तिले करार पत्र सकिएपछि अर्को कम्पनीमा काम गर्न चाहेमा प्रशासन, बिकास श्रम तथा सामाजिक मामिला मान्त्रालय र आन्तरीक मन्त्रालयको तोकिएको बिभागमा निबेदन दिन सक्नेछ । त्यसमा ती विभागहरुले निर्णय गरेमा अर्को कम्पनीमा गएर काम गर्न पाउने बाटो खुल्नेछ । सीमा नतोकिएको करार पत्रमा आएमा त्यसको अवधि पाँच वर्ष हुनेछ । जसले कम्पनीमा पाँच वर्ष कम्पनीमा सेवा दिइसकेको छ । उसलाई कम्पनीले अनिवार्य एनओसी दिनुपर्ने व्यवस्था छ ।

दोहोरो करारपत्र बोक्नुपर्ने अन्त्य
करारपत्रमा केन्द्रित स्पोन्सरसीप ब्यबस्थाले कामदारलाई दिइने नक्कली करारपत्र बोकेर आउनुपर्ने बाध्यता हट्ने विश्वास गरेको छ । किनभने यो नियम लागु भएपछि सक्कली करारपत्र बोकेका कामदारलाई मात्रै कतार बिमानस्थलमा रहेको अध्यागमनले आगमनको लागि अनुमति प्रदान गरिनेछ । यो हिसाबले कामदार आफ्नो करारपत्र बारे नेपालमा जानकारी लिन सक्ने हैसियतमा पुग्नेछ । फेरी यहाँ आएर अर्को करारपत्रमा बाधिनुपर्ने अबस्थालाई हटाएको छ । कतारले दोहोरो करारपत्रलाई बोक्नुपर्ने अबस्था हटाउन बिद्युतीय करारपत्र लागु गर्ने भएको छ ।

यदि सक्कली करारपत्र बोकेर आएका हकमा श्रम बिबाद परेमा उसले अस्थायी स्पोन्सर लिएर मुद्दा मामिला गर्न सक्नेछ । साथै अर्को कम्पनीमा काम गर्न पनि पाउनेछ । राहदानीको मामिलामा पनि प्रष्ट बोलेको छ । कामदारको इच्छा बिपरीत राहदानी राखेमा कम्पनी/रोजगारदाता माथि कारबाहीको ब्यबस्था गरिने नियम छ ।

सबैभन्दा चासोको पक्ष रहेको कम्पनीबाट राजिनामा दिएमा वा करार पत्र सकिएर स्वदेश फिरेको दुई बर्षसम्म अर्को कम्पनीमा आउन माथि लगाएको प्रतिबन्धबारे स्पष्ट बोलेको छैन । कम्पनी सक्कली करार पत्र भएमा स्वदेश फिरेको भोलीपल्टै कतार आउन पाउने श्रम मन्त्रालयले जनाएको छ । परिवार भिसामा ल्याउनमा ७ हजार रियाल र आवासको ब्यबस्था हुनुपर्ने छ ।

नेपालीलाई थप अवसर
कतारका लागि पूर्वराजदूत सूर्यनाथ मिश्रका अनुसार कतार नेपालीको लागि करियर भएको देश हो । ‘नयाँ नियमले हाम्रा कामदारले भोगेका धेरै समस्यालाई सम्बोधन गरेको छ,’ उनी भन्छन्, ‘न्याय पाउने बाटो सहज भएको छ ।’

कतारमा न्युन तलबमा काम गर्न पुगेका मात्रै नेपाली छैनन् । पहिला भन्दा अहिले नेपालीको हरेक कम्पनीको माथिल्लो तहमा आफ्नो बर्चस्व पनि बढिरहेको छ । ‘अहिले हरेक कम्पनीको व्यवस्थापनको टिममा नेपाली पुगेको छ’, युनाइटेड प्रिकाष्ट कम्पनीका प्रशासन प्रमुख सञ्जिव रानाभाट भन्छन्, ‘माथिल्लो तहमा नेपाली काम गर्न सक्षम छन् भन्ने प्रमाणित भइसकेको छ । अब क्षमता अनुसार प्रतिस्पर्धा पनि बढ्नेछ ।’

लेबर ल्याउने देशको रुपमा चिनिएको नेपाल विस्तारै दक्ष जनशक्ति पाउने भनेर चिनिदैछ । ‘हाम्रो पहुँचको अभाब र निजी क्षेत्र (म्यानपावर)मा मात्रै निर्भर/सिर्जित बजारका कारण पाएको अवसरलाई हात पार्न चुकिरहेका छौं,’ एसएसके ट्ेरडिङ कम्पनीका प्रबन्धक दीपक भेटवाल भन्छन्, ‘कामदार आपूर्ति गर्ने प्राबधानमा नेपाल सरकारले पनि आफ्नो नीति नियममा सुधार गर्न आबश्यक देख्छु ।’

कतारले आफूहरु दक्ष कामदार ल्याउन तयार भएको पटक–पटक बताउँदै आएको छ । पछिल्लो पटक कतारका सरकारको उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता गरेका पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ भन्छन्, ‘कतारले कामदार आपूर्ति प्रक्रिया छिटो हुनुपर्‍यो भन्ने बिषयलाई प्रमुख चासोको रुपमा उठाएका छन् । नेपालबाट कामदार आपूर्ति ढिला हुँदा धेरै कम्पनीले कतार सरकारलाई गुनासो गर्न पुगेका छन् । हामीले सहज रुपमा पाएका अवसरलाई सदुपयोग पनि गर्नुपर्छ ।’


प्रकाशित: मंसिर २८, २०७३

Comments