सयौं किलो सुन सेटिङमा छिराईने एर्पोटमा गरिबको गुण्टा कतिञ्जेल लुटिन्छ ? -..



आहा ! मेरो सगरमाथाको देश, शान्तीका अग्रदुत गौतम बुद्धको देश । मन्दिरै मन्दिरको देश, हिमालै हिमालको देश, वीर गोर्खालीको देश । यो भनिरहँदा गर्वले ढक्क छाती फुल्छ, ज्यान सिरिङ्ग हुन्छ र जिउभरी काँडा उम्रीन्छ । दु:ख लाग्छ मेरो देश आज लुटेराहरुको देश, ज्यानमाराहरुको देश, तस्करहरुको देश र भ्रष्ट्रचारीहरुको देश बनेको छ । यिनैले राज गर्छन यहाँ, यिनैको हैकम चल्छ यहाँ । बिहिबार एउटा घटना बाहिरियो सुन तस्करीको । साँढे ३३ किलो सुन सहित नेपालगंजका गोपाल बहादुर शाही र अन्य २ जना पक्राउ परे। दुबईका सुन कारोबारी सँग साँठगाँठ गरी सुनको अबैध तस्करी गरिरहेका शाहीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा काम हुने गरेको र गएको एक वर्षमा तीन सय किलोभन्दा बढी सुन काठ्माण्डौ भित्र्याउन आफु सफल भएको बताए । उनको यो तस्करीको ११ औं शृङ्खला थियो ।

यो सुन तस्करीको घटनाले निकै ठूलो प्रश्न उब्जाएको छ । साथै हाम्रा प्रहरी,भन्सार र बिमानस्थलका कर्मचारीहरुको नियत तथा हैसियत छर्लङग पारेको छ । हामी कस्ता मान्छेलाई डाडु पन्यु दिईरहेका छौं ? यी तस्करीहरुले राज गरेको एर्पोट, भन्सार र प्रहरीलाई कस्ले कार्वाही गर्छ ?
यस्ता तस्करहरुले जरा गाडेको एर्पोटलाई कसरी बिस्वास गर्ने ? यसरी सेटिङ मिलाएर क्विन्टलका क्विन्टल सुन भित्र्याउने गिरोहहरुले हाम्रा झिटी गुण्टा फोरे भनेर गुनासो गर्दा कस्ले सुनिदिन्छ ? जनतालाई शान्ती सुरक्षा दिने प्रहरी नै तस्कर बनेपछी, देश बिकासको आयश्रोतको मेरुदण्ड भन्सारका कर्मचारीनै लुटेरा बनेपछी कसरी बन्छ देश ? यी सारा देश लुट्ने हरुको पत्तासाफ नभए सम्म, देश खोक्रो बनाउने धमिराहरुलाई फाँसी दिने कानुन नबने सम्म जनताले सन्तोषको श्वास फेर्न पाउने छैनन ।

यहाँ लेनदेनको हिसाब नमिल्दा, तस्करी-तस्करीको बिचमा कुरा बाझिँदा यस्ता घटना बाहिरिने हुन । दैनिक सयौँ किलो सुन फ्रीमा भित्र्याईन्छन, चरेस, ब्राउन सुगर, कोकीनहरुको बोर्डीङ पास गराएर अरबौँ कमाइन्छन । कहिले चिनका नाकामा समाईन्छन सयौँ किलो सुन, कहिले राजधानीमा पक्रीन्छन हजारौ किलो रक्त चन्दन । तिम्रो साँठगाँठले देश खोक्रो बनाएका छौ, दलाली-दलाली मिलेर देश रित्तो बनाएकाछौ । न रोकिन्छ यो सिलसिला नरोकिने नै छ । धनदेखी महादेबको त तीन नेत्र हुन्छ भन्छन, तिमिहरु त जनताको खुन चुस्ने किर्ना, जुका र उडुसहरु न पर्‍यौ ।

हुन त तिम्रा स्वभावहरु हुण्डीवाला र सुन तस्करीहरुसंग ठ्याक्कै मिल्छन । तिम्रो जोडी एर्पोटका भ्रष्ट्राचारीहरुसँग जम्छ । नत्र चप्पल लगाउने हैसियत नहुने हरुसँग अरबको सम्पती कहाँबाट आउँछ ? स्वास्नी छोराछोरी र ससुरालीको हैसियत कसरी बढ्छ ? दैनिक १५ सय युवालाई जहाज चढाएर, दैनिक ७ वटा लाशको बाकस बुझेर तिम्रो कालो राजनिती कतिञ्जेल टिक्छ हामी पनि हेर्नेछौं । न सक्छौ देश परिवर्तन गर्न, न सक्छौ देशमै ढुटो पिठो, खाने वातावरण बनाउन । बरु देश छाड्दै लुट्छौ, देश भित्रीँदै लुट्छौ । अरबमा अरबिले जवानी लुट्छ, नेपालमा सरकारले भबिष्य लुट्छ । थोपा-थोपा पसिना बगाएर जोगाएको एकमुठी पैसाले आफ्ना आफन्तलाई किनेर ल्याएको घडी, मोबाईल, पेन्ड्राईभमा तिम्रो आँखा जान्छ, आफ्नै एर्पोट्मा काटिन्छन लगेज र निकालिन्छन खुसी । त्यसैमा तिमी राजनीति गर्छौ । तर सयौं किलो सुन भित्रीँदा आँखामा पट्टि बाँध्छौ, सैयौँ किलो लागू पदार्थ भित्रीँदा तिमी मौन बस्छौ ।

तिमिलाई पैसा बाहेक केही चाहिँदैन । मिल्छ भने तिमिहरुलाई पैसाले नै जलाउँला, हामी परदेशमा हुने हरुले तिमिलाई जलाउन पुग्ने रेमिट्यान्स पठाउँला । कुख्यात अपराधी चाल्स शोभराजले हात्ती छिराउँछु भनेर बर्षौँ अगाडि उसै भन्न कहाँ सक्थ्योर तिमिहरुको सेटिङ उसले नबुझेको भए ? कतिञ्जेल चल्छ लासमाथीको राजनिती ? कतिञ्जेल खेलिन्छ गरिब नेपालीको पसिनामा पौडी ? कतिञ्जेल रुवाईन्छ नेपाली दाजुभाई दिदिबहिनीहरुलाई ? कहिले रोकिन्छ मान्छे बेच्ने यो कालो खेल ? अनि कतिञ्जेल चल्छ अरबमा बेल्चा चलाएर नौजवानले पठाएको रेमिट्यान्समा रजाई ? छ कोही सँग यसको जवाफ ? छ कोहि सँग यसको समाधान ? हुत्ती भएपो बोल्छ कोही, आँट भएपो निस्कन्छ समाधान ।

युवा पुस्तालाई न काम छ, न काम गर्ने वातावरण छ । पासपोर्ट बनाउन बाध्य पारिन्छ, रुवाउँदै रुवाउँदै देश छोडाईन्छ । गाई,भैंसी र भेडा रोजे जसरी ज्यान हेरिन्छ,मुल्य तोकिन्छ र बेचिन्छ डलर, दिराम,रिङ्गिट, ओन र रियालहरुमा । एउटा गरिबको छोरो देश छाड्ने बेलामै नराम्ररी लुटिन्छ । मेनपावर मार्फत लाखौँ थुतिन्छ, उसका सपनाहरुमा दालालहरुद्वारा मुतिन्छ । फ्री भिषा फ्री टिकटको कुरा उठाउँछौ, तिम्रो राजनिती तताउँछौ, एकले अर्कोलाई दोष लगाउँदै तिम्रो मर्ने बेला आउने रहेछ के को गरीबलाई राहत दिलाउँछौ ?

हामीले नबुझेको हैन तिमिहरु दलाली मानशिकताबाट राजनितिमा आएका हौ । तिम्रा हरेक थोपा रगतमा देश लुट्ने आईडिया बगेकोछ, गरिब-दु:खीको पसिना चुस्ने आदत बसेको छ । तिम्रा बिचारहरु मेनपावरका दलालहरुसंग मिल्छन । अन्तमा यत्ती भन्छौँ यो घटनामा संलग्न प्रहरी, भन्सारका कर्मचारी र व्यापारीहरु या नेताहरु जोसुकै हुन यिनको सबै सम्पत्ती थुतेर, सर्वस्व सहित जिन्दगी जेलमा सडाउने हिम्मत सरकारले राख्छकि राख्दैन गृहमन्त्रीज्यु ? खबरदार तस्करले ५ किलो सुन दिन्छु भन्दा मन्त्री नबिकोस, देशको कानुनको धज्जी न उडाईयोस ।
जय देश !!!

Comments