काठमाडौं, १७ फागुन । नयाँ शक्ति नेपाल पार्टीको सोलुखम्बु जिल्ला कमिटी एमालेमा समाहित भएको छ । बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति नेपाल गठन भएको एक वर्ष नवित्दै सोलुखम्बुमा रित्तिएको हो ।
भट्टराई मधेसवादी दलसँग मिलेर संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिने निर्वाचनको विरोधमा उत्रिएपछि र क्षेत्रीयताको राजनीति सुरु गरेपछि नयाँ शक्तिमा लागेका नेता कार्यकर्ताले पार्टी परित्याग गर्न थालेका बेला सिंगो जिल्ला कमिटी नै एमालेमा विलय भएको छ ।
मंगलबार केन्द्रीय कार्यकारिणी परिषद् सदस्य एवं सोलुखुम्बु जिल्लाका संयोजक उत्तम बस्नेतको नेतृत्वमा नयाँ शक्ति परित्याग गरी जिल्ला कमिटी एमाले प्रवेश गरेको सचिव योगेश भट्टराईले बताए ।
उनका अनुसार बस्नेतसहितको टोलीलाई धुम्वाराहीस्थित एमाले मुख्यालयमा पार्टी महासचिव ईश्वर पोखरेलले टिका लगाएर स्वागत गरे ।
बस्नेतसहितको टोलीले एमाले प्रवेश गरेपछि सोलुखुम्बु नयाँ शक्तिबिहीन जिल्ला बनेको छ ।
बाबुराम भट्टराईनिकट मानिने बस्नेतले पार्टी परित्यागसँगै आफूले संयोजकको हैसियतमा गठन गरेको जिल्ला कार्यसमिति र मातहतका स्थानीय गाउँ समितिहरु समेत भंग गरेका थिए । -दैनिकनेपालबाट
Comments
Post a Comment